FAQs Complain Problems

village-profile






Sandakpur Rural Municipality - Village Profile


Sandakpur Logo

Sandakpur Rural Municipality

Mabumod, Deurali, Koshi Province, Ilam

Discover the beautiful landscapes and rich culture of sandakpur.

Beautiful Sunrise over Sandakpur

Sunrise Image

Kiwi Fruits in the Village

Festival Image

Scenic Landscapes of Maipokhari

Landscape Image

Yak in ILAM-PACHTHAR area

Farming Image

View of kanchenjunga from Jaubari

Market Image


सन्दकपुर गाउँपालिकाको संक्षिप्त परिचयः

सन्दकपुर गाउँपालिका साविकका माईमझुवा, सुलुवुङ्ग, मावु, जमुना गाविसहरु र माईपोखरी गाविसको ४ देखि ( सम्मका वडा मिलाएर साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार वनाएर पाँच वटा वडामा विभाजन गरि नेपालको सुदुरपूर्वी सुन्दर इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्राकृतिक,संस्कृतिक,धार्मिक एवं भौगोलिक रुपमा एक सुन्दरर धनी स्थानीय तह हो ।

देशमा कूल ७५३ स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसावले १३३ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७७ औ सानोस्थानीय तह हो। यस गाउँपालिकाको केन्द्र वडा नं १ र ३ मा पर्ने देउराली बजार मावुमोडमा अवस्थित छ । कृषि तथा पशुपालन, वैदेशिक रोजगार तथा जडिवुटि खेती यहाँका मानिसहरुको प्रमुख व्यवसाय हो । राई, लिम्वु वाम्हण, क्षेत्री, शेर्पा, सुनुवार, तामाङ्ग, गुरुङ्ग, मगर, दमाइ, कामी, भुजेल, भोटे र थामी जस्ता जातजाति यहाँ बसोवास गर्दछ ।यहाँ हिन्दु किराँत वौद्ध क्रिश्चियन जस्ता धर्मवालम्भी हरु बसोवास गर्दछन । साकेला वा उधौलीउभौली, दशै, तिहार, ल्होसार, क्रिसमस जस्ता प्रमुख चाडपर्वहरु माईन्छ । मारुनी, संगीनी, बालन,हाकपारे केलाङ्ग, साकेला नाँच, हुर्रा आदी यस क्षेत्रमा पाईने साँस्कृतिक नाँचहरु हुन ।

उचाईको हिसावले हेर्दा यहाँको धरातलीय भूवनोट ९०० मिटर देखि ३६३६ मिटर सम्म लेकवेसी रहेको यस गाउँपालिका हावापानी, वनस्पति, जनावर तथा अन्य थुप्रै हिसावले विविधता भएको गाउँपालिका हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माईपोखरी यसै क्षेत्रमा पर्दछ ।बिभिन्न लोपउन्मुख चराचुरुङ्गी, बनस्पतीहरु र जीवहरु जस्तै ठकठके, रेडपाण्डा चौरीयस क्षेत्रको थप आकर्षणको रुपमा रहेको छ । समग्रमा सन्दकपुर गाउँपालिका, संस्कृतिक, धार्मिक एवं भौगोलिक र पर्यावरणीय तथा जैविक विविधताको रुपमा निकै धनी गाउँपालिका हो ।

गाउँपालिकाको नामाकरणः

यस गाउँपालिकाको नामाकरणको सम्वन्धमा अनेको किम्वदन्तीहरु छन् । स्थानीय मानिसहरुको आ– आफ्नै भनाईहरु रहेको पाइन्छ । परापूर्व कालमा ऋषिमुनीहरुले (सन्तहरुले) तपस्या गर्ने गरेको र उक्त डाडाँमा समाधी प्राप्त गरि हिउँले सन्तलाई सोही डाडाँमा पुरिएको भन्ने किम्मदन्ती रहेको छ । त्यस डाँडालाई त्यसै घटनाबाट सन्तपुर भनिएको र पछि अपभ्रंस भई सन्दकपुर नामाकरण भएको स्थानीयहरुको भनाई छ । यस सन्दकपुर डाँडा वडा न २ माईमझुवाका र वडा नं. ४ मावुको सिमानामा पर्ने समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित छ जहाँबाट विभिन्न हिमश्रृंखलाहरुको रमणीय दृष्यहरु अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका गर्न सकिन्छ । तर्सथ प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेको यस सन्दकपुर भन्ने डाँडाका नामबाट यस गाउँपालिकाको नाम राखिएको छ । नेपाल भारत सिमानामा पर्ने सन्दकपुर भारतीय पर्यटन नक्सामा सन्दकफू नामले प्रसिद्ध छ । "सन्दक्फु" लाप्चा भाषाको शब्द हो जसको अर्थ बिखमा, उच्च पहाडी भेगमा पाइने एक बहुमुल्य बहुऔषधीको गुण भएको जडिबुट्टी भन्ने हुन्छ । सोही सन्दक्फु शब्दबाट अपभ्रम्स भई सन्दपुर नामाकरण भएको अर्का थरीको भनाई पनि रहेको छ ।

भौगोलिक अवस्थिति र स्वरुपः

यस गाउँपालिकाको पूर्वमा भारत दार्जिलिङ जिल्लाको सिंहलिला नेशनलपार्कसँग सिमाना जोडिएको छ भने पश्चिम, उत्तर र दक्षिणमा क्रमशः इलाम नगरपालिका, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका र माईजोगमाई गाउँपालिका पर्दछन् । दक्षिण पश्चिममा मेची राजमार्गको समिपमा रहेको यस गाँउपालिकाको पूर्वी भागमा निर्माणाधीन सीमा सडक समेत पर्दछ । समुद्र सतहबाट औषत ९०० देखी ३६३६ मिटरको उचाईमा फैलिएको यस गाउँपालिकामा विविध हावापानी पाइन्छ ।

यस सन्दकपुर गाउँपालिकाको केन्द्रीय कार्यालय २७ ००' ४९’’ उत्तरी अक्षांश देखी ८७ ५५’४२’’ पूर्वी देशान्तरमा समुद्र सतहबाट करिब २१२१ मिटरमा माईपोखरी नजीकै रहेको एैतिहासिक देउराली बजार, मावुमोड वडा नं. ३ सुलुवुङमा रहेको छ । इलाम जिल्लाको उत्तर–पूर्वी भागमा अवस्थित यो गाउँपालिकाको माथिल्लो भूभागहरु महाभारत हिमश्रृंखलामा पर्दछ । भूवनावटको हिसावले धेरै जसो जमिन भिरालो र माथिल्लो भूभागमा ठूला ठूला चरनका फाँट र वनजङ्गल ढाकेको छ भने बेसीमा केही भूभाग टारी रहेको छ । धरातलीय र हावापानीको हिसावमा विविधता भएकाले वाह्रै महिना एकै नासको हावापानी यहाँ पाइदैन । हिउँदमा माथिल्लो भागमा हिमपात हुने भएकोले निकै चिसो हुने तथा दक्षिणी क्षेत्रमा न्यानो हावापानी पाइन्छ । उत्तर तर्फ रमाईला भंञ्ज्याङ्गहरु, भिराला जमिनहरु रहेका छन् भने जमुना, सुलुवङ्गको टारी, गैरीगाउँ जस्ता स्थानहरुमा फाँटिला टारहरु रहेका छन् ।

भौगोलिक स्वरुपमा विविधता भएकै कारण उत्तर तिर खासगरी टुण्डा कोणधारी सदावहार वनस्पतिहरु, धुपिसल्ला, लेम्चोङ, सतुवा, विखमा, पाँचऔला, हड्चुर, पाखनबेत, यार्चागुम्वा, चमेली, ओखेआलु, बुढीओखती, चिङ्गफीग, खानक्पा, टिमुर, चिराइतो, लौठसल्ला, विभिन्न प्रजातिका चाँप, लालीगुरासँ सुनाखरी तथा अन्य औषधीजन्य दुर्लभ वनस्पितिहरु र जडिवुट्टीहरु प्रचुर मात्रामा पाइन्छ भने दक्षिणी भागमा मूलत होचो र खोला किनार टारहरु, औषत समशितोष्ण हावापानी रहेको हुनाले चिलाउने, उतिस, मलातो जस्ता विरुवाहरुको वाहुल्यता रहेको छ । यी भूभागहरुमा किवि, सुन्तला, अलैची, चिया, नास्पती, धान खेती, दलहन खेती, पशुपालन, सव्जीखेती आदिको राम्रो सम्भावना रहेको छ । सन्दकपुर गाउँपालिकामा ६ वटा माध्यमिक विद्यालय,२० वटा आधारभुत विद्यालय गरि जम्मा २६ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालय रहेका छन् । यस गाउँपालिकाको साक्षरता ९८।५ प्रतिशत रहेको छ । यस गाउँपालिकामा वर्थिङ्ग सेन्टर सेवा सहितका ५ वटा स्वास्थ्य चौकी र एउटा आयूर्वेद औषाधालय रहेको छ । सफा खानेपानी र शौचालयको प्रयोग करिब ९९ प्रतिशत घरधुरीमा उपलब्ध छ । ९० प्रतिशत घरमा विजुलीबत्तीको सेवा पुर्याईएको द्ध ।

Image 1
Image 2

क्षेत्रफल,जनसंख्या,जातिगत विवरण,परिवार संख्या र लैङ्गिक अनुपातः

Local community gathering

जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि.मी जस अन्तर्गत वडा नं. १. २८.६६ वर्ग कि.मी, वडा नं.२. ४८.९२ वर्म कि.मी, वडा नं. ३.२३.९५ वर्ग कि.मी वडा नं.४ २६.३१ वर्ग कि.मी र वडा नं. ५२८.८७ वर्ग कि.मी ओगटेको छ । पछिल्लो राजनैतिक विभाजनका आधारमा कूल ७५३ स्थानीय तहहरुमध्ये क्षेत्रफलको आधारमा यो गाउँपालिका ४७७ औ सानो स्थानीय तह हो भने गाउँपालिकाहरु मध्ये १३३ औ सानो स्थानमा पर्दछ । इलाम जिल्लामा रहेका दशवटा स्थानीय तह मध्ये यो छैटौ स्थानमा पर्दछ ।

यस गाउँपालिकामा ३२५३ परिवार रहेकोमा जम्मा १५५२८ जनसंख्या र महिला ४८.१३ प्रतिशत, पुरुष ५१.८४ प्रतिशत हुदाँ लैङ्गिक अनुपात ०.९३ रहेको छ । यस गाउँपालिकामा जातजातिका आधारमा राई ३७.२३%, गुरुङ्ग २२.०२%, लिम्बु १४.०१%, ब्राम्हण ११.०६%, सुनुवार र शेर्पा ५.८२%, मगर ३.२५%, दलित २.३४%, क्षेत्री २.१३%, तामाङ्ग १.१४% र अन्य नेवार, भोटे, थकाली, थामी, दनुवार १% जनसंख्याको वितरण रहेको छ । त्यसै गरि यस स्थानिय तहमा किरात ४८.५८%, बौद्ध ३०.४५%, हिन्दु १६.८४%, खृष्टियन ४.०९% र अन्य ०.०८% धर्मवालम्वीको बसोवास रहेको छ ।

महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुः

सन्दकपुर गाउँपालिका इलाम जिल्लामै धेरै र महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु रहेको स्थानीय तह हो । यसैकारण नेपाल सरकारले पर्यटन वर्ष २०२० को एक सय गन्तव्य स्थलहरुमा यस गाउँपालिकाको माईपोखरी सन्दकपुर लाई छनौट गरेको थियो भने कोशी प्रदेश को पर्यटन संस्कृतिक ग्रामको रुपमा समेत यस अघिनै घोषण गरेको छ ।यो क्षेत्र खासगरी पर्यापर्यटनका लागि नै चर्चित छ । दृश्यावलोकन, पुतली, चराचुरुङ्गी, काडेभ्याकुर, रेडपाण्डा, थार, घोरल, बदेल, बाघभालु, ठकठके, विभिन्न जातका पुतलीहरु, भिरमौरी तथा वन्य जन्तु अवलोकन, पैदल यात्रा आदिका लागि यो क्षेत्र चर्चित रहँदै आएको छ । यस क्षेत्र विशेषरुपमा धार्मिक प्राकृतिक तथा ऐतिहासिक रमणीय स्थलहरुको लागि पूर्वमै प्रख्यात रहेको छ । यस गाउँपालिकाको पूर्वी सीमाना भारतको पर्यटकीय क्षेत्रसंग जोडिने भएकाले पनि यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना रहेको कुरामा दुईमत छैन ।यस गाउँपालिकाको प्रमूख पर्यटकीय गन्तब्यहरु निम्नानुसार रहेका छन् ।

सन्दकपुरः

Image 1
Image 2

सन्दकपुर डाँडा परापूर्व कालमा सन्तहरुले समाधी प्राप्त गरेको पवित्र स्थान हो। सन्दकपुर गाउँपालिकाको वडा नं. २ माईमझुवा र वडा नं. ४ मावुको सिमानामा पर्ने समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित महाभारत पर्वत र इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थान हो । यस पर्यटकिय क्षेत्रसन्दकपुर भारतको गंगासागरसँग जोडिने पूर्वकै प्रसिद्ध पवित्र कन्काई माईको उद्गम स्थल पनिहो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर डाँडो नेपाल, भारत,भुटान र चीनको हिमश्रृंखलाहरुको साठ्ठी बढी हिमालहरुकोएकै स्थानबाट अलौकिक अतिरमणीय दृष्य अवलोकन, सूर्योदय, सूर्यास्त, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उतकृष्ट स्थानका रुपमा परिचित रहेकोछ । विगतदेखिनै भारतिय तथा तेस्रो मुलुकका पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा रहेको यस स्थानमा भारतीय सिमावर्ती क्षेत्रबाट पक्की सडक यातायातको सुविधा रहेको छ ।

यता माबु,कालपोखरी, विखे भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म कच्ची सडक यातायातको सुविधा पुगिसकेको छ ।साथै माइमझुवाको बुधवारे,खोर्साने कालापानी श्रीहाङ्गजी कालपोखरी र साविक माइमझुवा गाविसको बुधबारे, गोरुवाले भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म पुग्ने मोटरबाटो पनि खोलिएको छ । सन्दकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी नेपाल र भारत तर्फ आधारभूत सुविधा सहितका होटलहरु सञ्चालनमा रहेकाछन् । सन्दकपुर देखि २ किलोमीटर पश्चिममा अवस्थित आहालेडाँडा पनि प्राकृतिक दृश्यावलोकनका लागि रमणीय स्थान रहेकोछ । विभिन्न पोखरी, झर्ना, धप्पर लगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरु समेत रहेकाछन् । यसका साथै माइमझुवा मा अवस्थित फुस्रेपोखरी अर्को रमणीय स्थलका रुपमा रहेको छ । माइमझुवामा राई तथा गुरुङ्गजातीको संस्कृति र परम्पराको समेत अवलोकन गर्न सकिन्छ । बसोबासका लागि होमस्टे तथा ग्रामीणबजार बुधबारे हटियामा सामान्य होटलहरु रहेकाछन् । छिन्तापुसम्म जानका लागि माइपोखरी हँुदै माइमझुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर दुई घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । माइपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माइमझुवाको शेर्पेगाउँ हुँदै पनि पैदल ५ घण्टामा छिन्टापु पुग्न सकिन्छ । मेची राजमार्गमा पर्ने इलाम नगरपालिकाको बिब्ल्याँटे बजारबाट सन्दकपुर गाउँपालिका तर्फको सडक छुटिन्छ । यो सडक माईपोखरी हुँदै माईमझुवा तर्फ बढ्दछ ।

टोड्के झरनाः

सन्दकपुर गाउँपालिका वाड नं २ (साविकको माइमझुवा गाविसको वडा नं. ३ मा) रहेको, समुन्द्री सतहबाट १६०० मीटर उचाईमा अवस्थित टोड्के झरना ८६ मीटर अग्लो छ । माईमझुवा र मावुको सिमाना माईखोला देखि करीव ४० मीटर पश्चिममा रहेको यो झरना ईलामकै अग्लो भरना हो । झरनाको अवलोकनका लागि सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु वर्षेनी यहाँ आँउने गर्दछन् ।

जंगलका माझमा पहराका वीचबाट झर्ने यो झरनाको केही माथि समेत करिव ६० मिटर अग्लो शिवलिङ्गे झरना रहेको र झरना भन्दा तलपनि सानो झरना रहेकोले यो तीन तला जस्तो देखिने गरि झरेकोले निकै रमणीय पर्यटकीय गन्तब्यका रुपमा परिचित छ । यहाँ सम्म पुग्न गाडीको बाटो र पद मार्ग (टोड्के झरना डाँडा गाउँ टप्पु पदमार्ग करिब १७०० मि.) समेत विकास भईसकेकोले दुबै तरिकाले झरना सम्म पुग्न सकिन्छ ।

Local community gathering

Local community gathering

ताल पोखरीः

यस पोखरी सन्दकपुर गाउँपालिकाको वडा नं. २ माईमझुवामा धप्पर भन्दा केही माथी पर्दछ । यहाँ बाट कञ्चनजंगाको छायाँबहुत सुन्दर मनैलोभ्याउने दृष्य देखिन्छ । याथै यस वडामा फुस्रे पोखरी लगायतका कालीका पोखरी, जौले पोखरी, गुफा पोखरीहरु पनि रहेको छ जुन अति सुन्दर रहेको छ ।

माईपोखरीः

जिल्ला सदरमुकाम इलाम बजारबाट करीव १७ किलोमिटर उत्तरमा रहेको सन्दकपुर गाउँपालिका वडा नं १ र ३ को सीमानामा पर्ने माइपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तब्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रुपमा रहेकोछ । माइपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रुपमा रहँदै आएको छ । यस क्षेत्रको प्रमुख आकर्षण गन्तव्य माइपोखरीलाई २८ अक्टोवर सन् २००८ मा विश्व रामसार सूची अन्र्तगत सूचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि यसको विश्वव्यापी पहिचान समेत स्थापित भैसकेकोछ । नौ वटा कुनामा फैलिएको माइपोखरीलाई प्रकृतिको सुन्दर अनुपमसिर्जनाका रुपमा लिइने गरिन्छ ।

माइपोखरीको नामाकरणमा 'माई' अर्थात् आमा भन्ने शव्द जोडिएकाले पनि यसको महत्व अझै स्पष्ट दर्साउँछ जसको अर्थ पोखरीहरुको पनि आमा भन्ने लाग्दछ ।माईपोखरीलाई साक्षत देवीका रुपमा मानिन्छ यहाँ बलिप्रथा भने निषेध रहेकोछ । मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेकोछ । धार्मिक आस्थाको केन्द्र रहेको यस क्षेत्रका बारेमा अनगिन्ति किम्बदन्तीहरु रहेकाछन् । माइपोखरीको इतिवृत्त भन्ने पुस्तकमा टंक सुवेदीले लेख्नु भएको लेखका अनुसार मरुत राजाले यस ठाँउमा आएर नौवटा कुनामा नौवटै मन्दिर स्थापना गरि नवदुर्गाको पुजा गरी सो पुजा विसर्जन पश्चात पुजा स्थान सुरक्षित होस् भनी गंङ्गाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेकोछ । कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरु चराचुरुंङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने गरेको कुराहरु सुन्न पाइन्छ ।स्थानीयको भनाई अनुसार पहिले परापूर्वकालमा पोखरीमा पञ्चैबाजा, शंखघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट आकस्मत अनौठो ज्योति निस्कने र तुरुन्तै लोप हुने गरेको रहस्य स्थानीयबासीहरु व्यक्त गर्दछन् । द्वापार युगको अन्त्यमा पाँच पाण्डवहरु वनबास रहनेक्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माइपोखरीसम्म आई फर्किएको जनश्रुति समेत पाइन्छ । यसै गरी राजा मारुतका साथमा उनकी 'इला' नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै 'इला' बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेकोछ । माइपोखरीलाई हिन्दु, बौद्ध र किराँत धर्मको त्रिधार्मीक स्थल र आस्थाका रुपमा लिईन्छ । साथै हिन्दुधर्मअन्तर्गतका पुरणहरुमा यस पोखरीको वारेमा व्याख्या गरेको पाइन्छ । माइपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मल माइआश्रम, टाँसी छोलिङ्ग गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेकाछन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माइपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने परम्परा रही आएकोछ । धार्मिक तथा सांस्कृतिक विविधताले धनी यस क्षेत्रका समुदायको माइपोखरी प्रतिको आस्था भने समान रहेकोछ । सवै धर्म संस्कृतिको संगम रहेको माइपोखरीले सिंगो इलामको सास्कृतिक सम्भयताको प्रतिविम्बित गर्ने कुरा सहप्राध्यापक युद्धप्रसाद बैद्यले ‘माइपोखरीको इतिवृत्त’ नामक पुस्तक भित्र आफ्नो लेखमा उल्लेख गर्नु भएकोछ ।

९० हेक्टर मा फैलिएको यस सिमसार माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेकोछ । यस क्षेत्रमा ४ प्रजातीका लालीगुँरास, ३ प्रजातिका चाप, कटुस, लौठ सल्ला, भद्रासे, सल्ला, १७ प्रजातीका सुनाखरी, ६२ प्रजातीका जडिबुटी सहित ३०० प्रजातिका फुलफुल्ने र नेपालमा मात्र पाइने गलैचे झ्याउ (Peat moss) वैज्ञानिक नाम (Sphagnum Nepalense H.suzuki), लेउ, उन्यू, लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानीगोहोरो(ठकठके) (Himalayan Newt Salamander), लोखर्के, ओत, भ्यागुत्ता, पाहा, चमेरो, मृग, सर्प लगायत १२ प्रजातीका जलचर, ६ प्रजातीका उभयचर, ३ प्रजातीका माछा, १४ प्रजातीका स्तनधारी र ३०० भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरु रहेकाछन् ।

माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरु आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेश्रो यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक, तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरु आउने गर्दछने । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरु धेरै संख्यामा वर्षै भरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरुलाई सजिलो भएको छ । जिल्लाका अन्य गन्तब्यहरुसँग यसको सम्पर्क र सञ्जाल बनाउन सके आगामी दिनमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।

Image 1
Image 2
Image 2
Image 2
Image 1
Image 2

हाँगेथामः

सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा समुन्द्री सतहबाट करिव २१७० मिटर उचाईमा अवस्थित हाँगेथाम प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटकहरुका लागि आकर्षक गन्तव्य हो । हाँगेथाम क्षेत्र प्राकृतिक सम्पदा, जैविक विविधताले धनी आकर्षक भूपरिदृश्य, धार्मिक तथा पर्यटकीय दृष्टिले इलाम जिल्लाको उत्कृष्ट गन्तव्य पनि रहेकोछ । स्वच्छ चिसो हावापनी, छिनछिनमा परिवर्तन हुने मौसम, भुइँ कुहिरोको सेताम्य दृश्य, चराचुरुङ्गीहरुको चिरविर आवाज, घना वनजंगल र इलाम जिल्लाका अधिकांश भागका दृश्यहरु देखिने यस क्षेत्रमा पुग्ने जोकोहिको मन आनन्दित हुन्छ । विश्वमै दुर्लभ मानिएको हाब्रे (रेडपाण्डा), थार, ध्वाँसे चितुवा, कालो भालु, चरीबाघ, राजपंखी, ठकठके लगायतका वन्यजन्तु, काँडेभ्याकुर, मुनाल, चिल, पानीहाँस लगायत मौसम अनुसार टाढाटाढाबाट बसाई सरी आउने चराचुरुङ्गीहरु (Migratory Birds), र लालीगुँरास, चाँप, लौठसल्ला, सुनाखरी, चिराइतो, बान्टे, बज्राँठ, कटुस, लगायत धेरै जडिबुटीहरु यस क्षेत्रमा पाइन्छन् । चरा अवलोकनका लागि यो क्षेत्र विश्वमै प्रसिद्ध रहेको संरक्षणका पुस्तकहरुमा पढ्न पाइन्छ । जैविक विविधता सम्बन्धी अध्ययन, अनुसन्धान र अवलोकनका लागि विभिन्न देशहरुबाट मानिसहरु यस क्षेत्रमा आउने गरेका छन् ।

हाँगेथाम क्षेत्रको धार्मिक र साँस्कृतिक महत्व पनि उत्तिकै रहेकोछ । हिन्दु, बौद्ध, र किराँत समुदायले यस क्षेत्रलाई विशेष धार्मिक आस्थाले हेर्ने गरेकाछन् । नागपुजा, ल्होसारपर्वको अवसरमा विशेष पुजाआजा र भाकल गर्ने परम्परा रहँदै आएकोछ । यस बाहेक जैविक विविधताको अध्ययन, अनुसन्धान र अवलोकन, पिकनिक, प्राकृतिक दृश्यावलोकन, स्थानीय संस्कृति, परम्परा र रहनसहनको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेकाछन् । हाँगेथाम क्षेत्रमा शेर्पा, राई, गुरुङ्ग र तामाङ्ग समुदायको सानोबस्ती रहेको छ । यहाँ ग्रामीण रहनसहनको भरपुर आनन्द लिन सकिन्छ । इलाम सदरमुकाम नजीकै रहेको विब्ल्याँटे बजारबाट मोटर चढी जमुनाको हाँगेथाम पुग्न सकिन्छ । हाँगेथामबाट भारत तर्फको सिमावर्ती क्षेत्र कैयाँकट्टा, गैरीबास, जौबारी हुँदै सन्दकपुरको मनोरम दृष्यको अवलोकन गर्न जान सकिन्छ ।

चोयाटार सामुदायिक वनः

सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा अवस्थित चोयाटार सामुदायिक वन विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र ग्रामीण पर्यटनको प्रारम्भसँगै भर्खरै विकसित हुँदै गएको पर्यापर्यटकीय स्थल हो । स्थानीय समुदायले यस वन क्षेत्रमा रेडपाण्डाको बासस्थान संरक्षण गरी आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रेडपाण्डा अवलोकन गर्ने व्यवस्था मिलाएकोछ ।मालिङ्गाको भण्डार रहेको यस स्थानमा स्थानीय स्तरमा होमस्टे प्रणालीको व्यवस्था छ।चोयाटार पुग्नका लागि इलाम सदरमुकाम नजीकैको विब्ल्याँटे बजारबाट सडकयातायातको माध्यमले जमुनाको बुधबारे बजार हुदै इङ्ला चोयाटार पुग्न सकिन्छ ।

Local community gathering

Local community gathering

माबुथामः

सन्दकपुर गाउँपालिका वडा नं. ४ माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रुपमा रहेका छन् । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा,चमेरे गुफा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने स्थान हो । भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरु हुन् । यस स्थानबाट नजीकै रहेको अर्को पर्यटकीय गन्तब्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दृश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपुर्ण रहेकोछ । मेची राजमार्गको विब्ल्याँटे, सुलुबुङ्ग, माइखोला, सोमबारे बजार हुँदै जीपबाट लगभग डेढ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । यस भेगमा पर्यटकहरुका लागि सिमित संख्यामा होटल र होमस्टेहरु सञ्चालित रहेकाछन् ।

जौबारी, तुम्लिङ्ग र मेग्माः

सन्दकपुर गाउँपालिका वडा न. ५ जमुनाको पूर्वीउत्तर भेगमा अवस्थित जौबारी सिमावर्ती व्यापारिक थलो र पर्यटकीय स्थल हो । इलाम जिल्लाका विभिन्न प्राकृतिक स्थानहरुको दृश्यावलोकन, सगरमाथा, कञ्चनजंघा लगायतका हिमश्रृंखलाहरुको दृश्यावलोकन तथा शेर्पा, भोटिया रहनसहन र संस्कृतिको अवलोकनका लागि जौबारी परिचित रहेकोछ । जौबारीबाट ४ किलोमिटर दक्षिणको भारतीय सिमावर्ती क्षेत्रमा अर्को सानो वस्ती तुम्लिङ्ग र त्यसभन्दा २ किलोमिटर दक्षिणमा मेग्मा अवस्थित रहेकोछ । यस क्षेत्रमा सिमावर्ती ट्रेकिङ रुट (Boarder Trekking Route), नेपाल तथा भारतीय क्षेत्रको दृश्यावलोकन, सिंहलिला नेशनल पार्कको अवलोकन प्रमुख आकर्षणका रुपमा रहेकाछन् । खास गरी भारतीय भूमि हुँदै सन्दकपुर आउने भारतीय तथा तेश्रोमुलुकका पर्यटकहरु यहि मार्ग भएर जाने हुदाँ दिनहुँजसो यस क्षेत्रमा पर्यटकहरुको चहलपहल भइरहन्छ । पर्यटकहरुका लागि खान तथा बस्नको आधारभूत सुविधा सम्पन्न होटलहरु यस क्षेत्रमा रहेकाछन् । इलाम बजार विव्ल्याटे बजार सुलवुङ सापकोटा डाँडा जमुना ईङ्गलाहँदै जौवारी पुग्न सकिन्छ भने अर्को बाटोइलाम सदरमुकामबाट नयाँबजार थुम्के हुँदै वा पशुपतिनगर गोर्खे लामिधुरा हुँदै यी स्थानहरुसम्म मोटरबाटो या पैदलयात्रा गरी पुग्न सकिन्छ । जौबारीमा नेपाल सरकारको आलु विकास तथा अनुशन्धान केन्द्र रहेको छ जहाँ करिव १३६ जातिका आलुहरु उत्पादन गरी आलु उत्पादनको क्षेत्रमा राम्रो परिचय बनाएको छ ।

Local community gathering

Local community gathering

चन्द्रपाल थेवे धाप पोखरीः

सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा अवस्थित चन्द्रपाल थेवे धाप पोखरी प्राकृतिक रुपमा रहेको सिमासार क्षेत्रमा बाँध बाँधी बनाइएकोइलाम जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यसको निर्माण २०७१ सालबाट शुरु भएको हो । यो करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यस पोखरी वरिपरि १३ बटा पानीका मुहानहरु रहेका छन् । धेरै प्राकृतिक पर्यटकीय उपज भएको इलाममा यो मुख्य मानव निर्मित पर्यटकीय उपज हो । यो जलाशयको निर्माणसंगै हरेक नयाँ बर्षको पहिलो दिन यहाँ विशेष मनोरञ्नात्मक सांस्कृतिक मेला आयोजना गर्ने कार्यक्रम गर्न थालिएको छ । यस पोखरीमा विभिन्न प्रकारका माछा पाईनका साथै फिसिङ र डुङ्गा सयर समेत गर्ने व्यवस्था भएकोले पर्यटकको मन जित्न सफल भएको छ ।

छिन्टाप्पुः

करिव ३३०० मिटरको उचाईमा रहेको यस छिन्टाप्पुडाँडा पाँचथर जिल्लाको फिदिम नगरपालिकाको सिमानालाई छुने वडा नं. १ माईपोखरी र वडा नं. २ को सिमानामा पर्ने उत्तरी भेगमा पर्दछ । यस क्षेत्रमा डाँफे, रेडपाण्डा, चितुवा, घोरल, भालु बाँदेल जस्ता बहुमुल्य जनावारहरु पाउन सकिन्छ । यसका साथै यस क्षेत्र हिँउदमा सेताम्य हिउले ढाक्ने भएकोले यस क्षेत्रमा बहुमुल्य हिमाली जडिवुट्टी जस्तै विखुप्मा सतुवा, पाखानवेद, चिराईतो आदि प्रसस्त पाईन्छ । यो ईलामकै एकै ठाँउमा सवै भन्दा धेरै करिव १८ प्रजातिका लालिगुराँस पाईने क्षेत्र पनि हो । छिन्टप्पुबाट कञ्चनजंगा हिमश्रीङ्खला र १४ वटा जिल्ला एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । यहाँ चारबटा ससाना पोखरी रहेको छ जुन अति सुन्दर छ जहाँ हिमालको प्रतिविम्बले झन मनमोहक बनाएको छ । ढुंगामा ओखल आकृतिमा पानी पलाएको अद्भूत प्राकृतिक स्थल रहेको छ यो ईलाम जिल्लाको चार माई मध्ये पवित्र खोला पुवामाई वा पुवाखोलाको उद्य्गम स्थल पनि हो । साथै माईपोखरी कै भित्ते भन्ने ठाउँमा स्याल ढाँडे गुफा करिव २५ फीट लम्बाई भएको गुफा रहको छ जहाँ प्रत्येक वर्ष शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ ।

Local community gathering

Local community gathering

माईखोला र पुवाखोलाः

माईखोला,एक पवित्र धार्मिक तथा प्रकृतिक रुपमा रहेको सदावहार वहने महाभारत पर्वतकै उच्च स्थान सन्दकपुरबाट उत्पती भएको ईलामकै सवैभन्दा ठूलो खोला हो जसलाई झापा जिल्लामा कन्काईमाई नामले समेत चिनिन्छ ।साथै पुवाखोला,गिताङ खोला,धुवाखोला,पाहा खोला,निवा खोला,राते खोला,ईङ्ला खोला,छाँगे खोला (झरना) ,समाहा खोला, सानीमाई खोला,चमेरे खोला,भालु खोला जस्ता दर्जनौ खोला तथा अन्य धेरै सासाना खोल्सा खोल्सीहरु रहेकोले यस गाउँपालिका इलामकै सवै भन्दा बढी पानीको स्रोत भएको गाउँपालिकाको रुपमा रहेको छ । जसले गर्दा पर्यावरणीय सन्तुलन,सिचाई,खानेपानी तथा जलविद्युत उत्पादनको लागि यो भूमीको ठलो महत्व रहेको छ ।

साथै सन्दकपुर गाउँपालिका कोशी प्रदेशकै प्रमूख गन्तव्य स्थल र संस्कृतिक ग्रामको रुपमा घोषणा भएको र संघ सरकारको एक सय गन्तव्य स्थलहरु मध्ये उत्कृष्ट दश गन्तव्य स्थलको रुपमा समेत छनौट भईसकेको हुनाले पनि यस गाउँपालिकाको महत्वलाई उजागर गर्दछ ।

समग्रमा हेर्दा पर्यटकीय स्थलहरुको उद्गम भूमि, विभिन्न किसिमको हावापानी, संस्कृति, भेषभुषा, रितिरिवाज,भाषा,जातजाति वसोवास गरेको भुमि हो भने अनेकौ जडिवुटीले भरिएको वन क्षेत्र नौ वटा जलविधुत आयोजनाको मुहान रहेको साथै अनन्त विकासका संभावनाहरुलाई थेगिरहने अवसर यस गाउँपालिकाले पाएको छ ।

Contact Information

Address: Sandakpur Rural Municipality Office, Sandakpur, Ilam District, Province No. 1, Nepal

Phone: +977-123456789

Email: info@sandakpur.gov.np

Office Hours: Sunday - Friday: 9:00 AM - 5:00 PM

© 2024 Sandakpur Rural Municipality. All Rights Reserved.